१. जिल्लाको संक्षिप्त परिचय
मुस्ताङ्ग गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो। धवलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी सहित पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् । परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।
२.. भौगोलिक अवस्थिति
अक्षांस:- २८.२०” उत्तरदेखि २९.०५”
देशान्तरः- ८३.३०” पूर्वदेखि ८४.१५”
सिमाना:- पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला
क्षेत्रफल: ३५७३ वर्ग किलो मिटर (१,३८० वर्ग माईल)
भौगोलिक विभाजन: हिमाली प्रदेश।
३. जनसंख्या
२०७८ को जनगणना अनुसार कूल जनसंख्या १४,४५२ रहेको छ। जसमा पुरुषको संख्या ७,९३४ (५४.९%) र महिलाको संख्या ६,५१८ (४५.१%) छ।
४. वनस्पती तथा जैविक विविधता
जिल्लाको हावापानी शितोष्ण खालको भएको हुनाले तल्लो भेग तिर मिश्रति कोणधारी वनस्पती धुपी सल्लो पाइन्छ भने माथिल्लो भेगतिर १०,००० फिट भन्दा माथि भोटेपिपल, वैंस, काँडेदार वुट्यान र घाँस मुख्य रुपमा रहेको छ । जिल्लामा पाइने मुख्य वनस्पतीमा सल्लो, धुपी, वैंश, भोजपत्र, लालीगुराँस, काँडेदार वुट्यान, घाँस, भोटे पिपल रहेका छन् ।
५. वन्यजन्तु:
हिउ चितुवा, कस्तुरी, खरायो, घोरल, बन भेडा, भालु, नाउर, वाघ आदि जिल्लामा पाइने मुख्य वन्य जन्तुहरु हुन् ।
६. वन्यपक्षी:
डाँफे, मुनाल, च्याखुरा, कालीज आदि पनि यस जिल्लामा पाइने वन्यपंक्षीहरु हुन ।
७. जडीवुटी:
यहाँको वनमा महत्वपूर्ण जडीवुटी जस्तै यार्चागुम्वा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानेा, कुकुर्को वीख, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा, आदि जस्ता प्रशस्त वहुमूल्यवान र उपयोगी जडिवुटीहरु पाइन्छ ।
८. पाल्तु पशुपंक्षी:
यहाँ पालिने पाल्तु पशुमा याक, नाक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङग्रा, भैसी, गाई, वंगुर आदि हुन् भने पंक्षीमा कुखुरा र हाँस पनि पालिन्छन् ।
९. सामाजीक जनजीवन:
उच्च पहाडी दूर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ । सदरमुकाम देखि उत्तर तिर भोटे, गुरुङ, विष्ट र ठकुरी जातीहरुको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरुको वसोवास भएको पाईन्छ । गुरुङ् तथा थकाली जातीहरु वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरुले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन ।
मिति | जिल्लाको संक्षिप्त परिचय विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2075-09-10 |
मुस्ताङ जिल्लाको संक्षिप्त परिचय
2075-09-10 |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मुस्ताङ्ग
Powered By: ProActive Developers